काठमाडौं, वैशाख १९ – बैंक खातामा ब्यालेन्स देखाउनु पर्ने भन्दै एक व्यक्तिलाई ६१ लाख रुपैयाँ जम्मा गर्न लगाई फरार भएका दुई युवा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काभ्रेको बनेपा नगरपालिका–२ घर भई हाल भक्तपुरमा बस्दै आएका २० वर्षीय विशाल घिमिरे र रौतहटको गरुडा नगरपालिका–४ घर भएका १८ वर्षीय प्रिन्स कुमार रहेका छन्। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुन्धाराबाट पक्राउ गरेको हो।
उनीहरूले आफूहरू अमेरिका विद्यार्थी भिसामा जान लागेको भन्दै पीडितलाई झुक्याई बैंक खातामा ब्यालेन्स देखाउनु पर्ने भन्दै ६१ लाख रुपैयाँ जम्मा गर्न लगाएका थिए। उक्त रकम खातामा आएपछि उनीहरूले निकालेर विभिन्न खातामा सारेर फरार भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता अंगुर जिसीले जानकारी दिए।
पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ।
यस घटनाले भिसाको नाममा हुने आर्थिक ठगीप्रति सुरक्षा सतर्कता आवश्यक भएको देखिएको छ।