हेटौंडामा सडक भासिँदा पिकअप भ्यान गायब, पानीको दहमा डुब्यो गाडी


हेटौंडामा सडक भासिँदा पिकअप भ्यान गायब, पानीको दहमा डुब्यो गाडी
  • नवकिरण
  • बैशाख २०, २०८२

हेटौंडा, वैशाख २० – हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडाको सिमाना गैरीगाउँस्थित भित्री कच्ची सडक खण्डमा सडक भासिएर एक पिकअप भ्यान पानीको दहमा गायब भएको छ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार घाँस काट्ने मेसिन बोकेको ना४च ४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याप बलेरो भ्यान सडक भासिएपछि पानीले भरिएको खाल्डोमा पुरिएको हो। सडक भासिएपछि त्यहाँ ठूलो दह बनेको छ।

गाडीका चालक र सहचालकले भने गाडी भासिनुअघि नै बाहिर निस्किएर ज्यान जोगाएका छन्। घटनास्थलमा रहेका सहचालकले भने, “गाडी भासिन थालेपछि डोरी लगाएर तान्न खोज्यौं, तर मान्छेले तानेर कहाँ हुन्छ र? डोरीसहितै गयो गाडी। हामी हाम फालेर जोगियौं।”

शुक्रबार दिउँसो घटेको यो घटनामा गाडी करिब ५ सेकेन्डमै सडकसहित हराएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। घटनास्थल नजिकै माछापालनका लागि खनिएको बोरिङसमेत रहेको र सोही बोरिङका कारण जमिन भासिएको हुन सक्ने अनुमान गरिएको छ। बोरिङ पनि सडकसँगै भासिएको छ।

हाल पानीमा गाडीको कुनै भाग देखिएको छैन। पानी कटाएर गाडीको खोजी गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ।