मकवानपुर, वैशाख २१ – निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक र हेटौँडाबाट काठमाडौँ जाने कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएका छन्।
नवलपरासीस्थित दाउन्ने खण्डमा भइरहेको सडक विस्तारको क्रममा निरन्तर वर्षाका कारण सडक चिप्लो बनेपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिएका छन्। उनका अनुसार यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द हुने कार्य पहिलेबाटै हुँदै आए पनि निरन्तर वर्षाले थप समस्या निम्त्याएको छ। सडक बन्द भएपछि सवारीसाधन लामबद्ध भएर रोकिएका छन्।
यस्तै, अविरल वर्षाका कारण मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार बिहान ६ बजेदेखि नै यातायात ठप्प भएको हो।
प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार प्रहरी टोली घटनास्थलमा खटिएको छ र सडक खुलाउने प्रयास जारी छ। प्रहरीले हेटौँडाबाट काठमाडौँ जान यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।