आरआर क्याम्पसमा स्ववियु कार्यसमिति खारेजीको माग गर्दै उच्च अदालतमा रिट


आरआर क्याम्पसमा स्ववियु कार्यसमिति खारेजीको माग गर्दै उच्च अदालतमा रिट
  • नवकिरण
  • बैशाख २१, २०८२

काठमाडौ, वैशाख २१ – रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसका पाँच विद्यार्थी संगठनहरूले स्ववियु (स्ववियु) कार्यसमिति खारेज गर्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका छन्।

उनीहरूले उम्मेदवार तथा मतदाताहरूसँग कुनै पनि प्रकारको छलफल नगरी निर्वाचन समितिले स्ववियु कार्यसमिति घोषणा गरेको भन्दै आपत्ति जनाएका हुन्।

रिटमा कार्यसमिति खारेज गरी विद्यार्थीको मताधिकार सुनिश्चित गर्न र नयाँ निर्वाचन गराउन आदेश दिन माग गरिएको छ।

यसअघि दुईपटक प्रयास गर्दा पनि आरआर क्याम्पसमा स्ववियु चुनाव सम्पन्न हुन नसकेपछि निर्वाचन समितिले अनेरास्ववियुका अध्यक्षका उम्मेदवार लोकेस खड्को नेतृत्वमा कार्यसमिति घोषणा गरेको थियो।

यद्यपि निर्वाचन समितिले विद्यार्थी संगठनहरूसँग परामर्श गरी कार्यसमिति बनाएको दाबी गरे पनि केही उम्मेदवारहरूले आफूहरूसँग कुनै छलफल नै नगरी निर्णय गरिएको आरोप लगाएका छन्।

रिट दायर गर्नेहरूमा नेविसंघका अध्यक्षका उम्मेदवार विनोदराज जोशी, स्वतन्त्र उम्मेदवार हर्क बोहरा, अखिल क्रान्तिकारीका विवेक मयाल, अखिल समाजवादीबाट सचिवका उम्मेदवार जगदीश गिरी, नेविसंघका कोषाध्यक्ष पदका उम्मेदवार शारदा पौडेल र अखिल क्रान्तिकारीबाट सदस्य पदका उम्मेदवार पासाङ लामा रहेका छन्।