भारत–पाकिस्तान तनाव चुलियो : आक्रमणमा ३१ पाकिस्तानीको मृत्यु


भारत–पाकिस्तान तनाव चुलियो : आक्रमणमा ३१ पाकिस्तानीको मृत्यु
  • नवकिरण
  • बैशाख २५, २०८२

काठमाडौँ, वैशाख २५ – भारतको आक्रमणपछि पाकिस्तानी सेनाले दिएको जानकारी अनुसार मृत्यु हुनेको संख्या ३१ पुगेको छ। सेनाले अद्यावधिक विवरण सार्वजनिक गर्दै ५७ जना घाइते भएको जानकारी दिएको हो।

यसअघि २६ जनाको मृत्यु र ४६ जना घाइते भएको विवरण सार्वजनिक गरिएको थियो। भारतीय सेनाले पनि सीमा क्षेत्रमा पाकिस्तानी गोलाबारीका कारण आफ्ना छेउमा कम्तीमा १५ जना सर्वसाधारणको मृत्यु भएको जनाएको छ।

भारतले बुधबार राति गरेको क्षेप्यास्त्र आक्रमण गत महिनाको पहलगाममा भारतीय पर्यटकहरूमाथि भएको आतंकवादी आक्रमणको प्रतिक्रिया स्वरूप भएको दाबी गर्दै आएको छ।

भारत प्रशासित कश्मीर क्षेत्रमा दशकौंदेखि विद्रोह जारी रहेको छ जसले हजारौँको ज्यान लिइसकेको छ। भारत र पाकिस्तान दुवैले कश्मीरलाई आफ्नो पूर्ण भूभागको रूपमा दाबी गर्दै आएका छन्।

यस्तो अवस्था थप तनावपूर्ण बन्न सक्ने भन्दै अन्तर्राष्ट्रिय समुदायले संयम अपनाउन दुबै देशलाई आग्रह गरिरहेका छन्।