प्रचण्डको आरोप : ‘अवसरवादीले भ्रम छरिरहेका छन्, समाजवादी क्रान्तिको दिशामा अघि बढिरहेका छौँ’


प्रचण्डको आरोप : ‘अवसरवादीले भ्रम छरिरहेका छन्, समाजवादी क्रान्तिको दिशामा अघि बढिरहेका छौँ’
  • नवकिरण
  • बैशाख २७, २०८२

काठमाडौं, वैशाख २७ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अवसरवादी शक्तिहरूले आफूविरुद्ध भ्रम छर्ने काम गरिरहेको आरोप लगाएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित निर्मल लामा स्मृति दिवस कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यथास्थिति भत्काउँदै समाजवादी क्रान्तिको दिशामा अघि बढिरहेको बताएका हुन्।

उनले कम्युनिस्ट आन्दोलनलाई फेरि क्रान्तिकारी आदर्श र निष्ठातर्फ उन्मुख गराउँदै विचार, मुद्दा, वर्ग र समुदायलाई केन्द्रित गरी संघर्ष अगाडि बढाइरहेको बताए।

“अहिले प्रतिक्रियावादी र अवसरवादी तत्वहरू हामीविरुद्ध घेराबन्दी गर्न र भ्रम फैलाउन लागि परेका छन्,” अध्यक्ष प्रचण्डको भनाइ थियो। उनले नेताहरूको देवत्वकरण गर्नु हुँदैन भन्दै आलोचना पनि गरे।

उनका अनुसार वर्तमान चुनौतीहरूलाई सम्बोधन गर्दै माओवादी केन्द्र फेरि समाज रूपान्तरणको दिशामा दृढताका साथ अघि बढिरहेको छ।