धितोपत्र बोर्डमा अख्तियारको छापा : ४२ जलविद्युत् कम्पनीसँग कमिसन मागिएको खुलासा


धितोपत्र बोर्डमा अख्तियारको छापा : ४२ जलविद्युत् कम्पनीसँग कमिसन मागिएको खुलासा
  • नवकिरण
  • बैशाख २४, २०८२

काठमाडौं, वैशाख २४ – नेपाल धितोपत्र बोर्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। बुधबार गरिएको छापामा आईपीओ (सर्वसाधारण सेयर) निष्कासन प्रक्रियामा रहेका ८९ कम्पनीका कागजातहरू अख्तियारले नियन्त्रणमा लिएको हो।

निजी ऊर्जा उत्पादक कम्पनीहरूको संस्था इप्पान (IPPAN) का पदाधिकारीहरूका अनुसार, आईपीओ स्वीकृति दिने क्रममा धितोपत्र बोर्डबाट पाँच प्रतिशत कमिसन मागिएको थियो। इप्पानका अनुसार, ४३ जलविद्युत् कम्पनीमध्ये ४२ कम्पनीले बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पठाएका भनिएका व्यक्तिहरूबाट रकम मागिएको पुष्टि गरेका छन्।

ऊर्जा उत्पादकहरूले बताएका अनुसार, ती व्यक्तिहरूले कम्पनीका प्रवर्द्धकहरूसँग प्रत्यक्ष भेटघाट, फोन, एसएमएस तथा इमेलमार्फत सम्पर्क गरेर कमिसन माग गरेका थिए। ती व्यक्तिहरूले “पाँच प्रतिशत रकम दिएमा आईपीओ प्रक्रिया चाँडै अघि बढाइने, नत्र ढिला गरेर बढी ब्याज तिर्नुपर्ने” भन्दै दबाब दिएको खुलासा गरिएको छ।

आईपीओ स्वीकृतिका लागि कमिसन मागिएको विषय सार्वजनिक भएपछि संसदमै यसको चर्चा भएको थियो। त्यसपछि अख्तियारले सक्रियता देखाउँदै छापा मारेको हो।

स्रोतका अनुसार, हालैका दिनमा धितोपत्र बोर्डमा रहेका अनियमितता र प्रभावशाली व्यक्तिहरूको संलग्नता माथि थप अनुसन्धान भइरहेको छ।

यस विषयमा धितोपत्र बोर्ड र अध्यक्ष श्रेष्ठको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।