गायिका एलिना चौहान सामाजिक सञ्जालमा चरित्रहत्या गर्नेविरुद्ध साइबर ब्युरोमा उजुरी लिएर पुगिन्


गायिका एलिना चौहान सामाजिक सञ्जालमा चरित्रहत्या गर्नेविरुद्ध साइबर ब्युरोमा उजुरी लिएर पुगिन्
  • नवकिरण
  • अषाढ १६, २०८२

काठमाडौं, असार १६ – गायिका एलिना चौहान सामाजिक सञ्जालमा निजी जीवनलाई लिएर अभद्र र अमर्यादित टिप्पणी गर्ने प्रयोगकर्ता विरुद्ध कानुनी कारबाहीको माग गर्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिन पुगेकी छन्।

उनले सोमबार ब्युरोमा उपस्थित भई चार जना व्यक्ति विरुद्ध उजुरी दर्ता गरेकी हुन्। ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार, एलिनाको निवेदनमा आधारित रहेर अहिले अनुसन्धान सुरु गरिएको छ।

गायिका चौहानले केही समयदेखि आफूविरुद्ध लगातार अभद्र टिप्पणी भइरहेको बताउँदै अति भएपछि उजुरी दिन बाध्य भएकी हुन्। “अहिले चार जनाविरुद्ध मात्र उजुरी दिएकी छु, बाँकी विरुद्ध पनि क्रमशः कानुनी प्रक्रिया अघि बढाउने योजना छ,” उनले भनिन्।

एलिना र अर्की गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा यस्ता अभद्र कमेन्ट गर्ने प्रयोगकर्ताहरूको फेसबुक प्रोफाइल सार्वजनिक गर्दै आएका छन्। उनीहरूको यो अभियानपछि सामाजिक सञ्जालमा हुने अमर्यादित टिप्पणीको संख्या केही हदसम्म घटेको एलिनाको भनाइ छ।

साइबर ब्युरोले उजुरीका आधारमा दोषीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।