इनिसा विक हत्या प्रकरण : काठमाडौंमा फेरि विरोध प्रदर्शन, दोषीलाई कडा कारबाहीको माग


इनिसा विक हत्या प्रकरण : काठमाडौंमा फेरि विरोध प्रदर्शन, दोषीलाई कडा कारबाहीको माग
  • नवकिरण
  • फागुन ३०, २०८२

काठमाडौं, फागुन ३० – इनिसा विक हत्या प्रकरणमा दोषीमाथि कडा कारबाही गर्न माग गर्दै शनिबार पनि काठमाडौंमा युवाहरूले विरोध प्रदर्शन गरेका छन्।

निष्पक्ष छानबिन गरी घटनामा संलग्नलाई कडा सजाय दिनुपर्ने मागसहित युवाहरूको समूहले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरूले विभिन्न नाराबाजी गर्दै महिलामाथि हुने हिंसा रोक्न र पीडितलाई न्याय दिलाउन सरकारसँग माग गरेका थिए।

प्रदर्शनकारीहरूले बलात्कार जस्ता जघन्य अपराधमा संलग्नलाई कडा कानुनी व्यवस्था गर्नुपर्ने बताउँदै यस्ता घटनामा कडाभन्दा कडा सजायको व्यवस्था हुनुपर्ने धारणा राखेका छन्।

उनीहरूले महिला तथा दलितमाथि हुने हिंसा अन्त्य गर्न राज्यले प्रभावकारी कदम चाल्नुपर्ने पनि बताएका छन्।

सुर्खेतको वीरेन्द्रनगरस्थित एक सामुदायिक वन क्षेत्रमा इनिसा विक मृत अवस्थामा फेला परेकी थिइन्। पोस्टमार्टम प्रतिवेदनअनुसार बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखिएको छ भने प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ।