खुसीको माहोल शोकमा परिणत: बिहेमा झगडा हुँदा १८ वर्षीय युवकको मृत्यु


खुसीको माहोल शोकमा परिणत: बिहेमा झगडा हुँदा १८ वर्षीय युवकको मृत्यु
  • नवकिरण
  • बैशाख ८, २०८३

धनगढी, वैशाख ८ – कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा विवाह समारोहका क्रममा भएको झगडाले एक युवकको ज्यान लिएको छ ।

प्रहरीका अनुसार सोमबार राति करिब साढे १ बजे विवाहमा सहभागी भएका १८ वर्षीय उज्वल सायरमाथि धारिलो हतियार प्रहार गरिएको थियो ।

गम्भीर घाइते भएका उनलाई तत्काल धनगढीस्थित माया मेट्रो अस्पताल पुर्‍याइएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार सायरको छातीमा गम्भीर चोट लागेको थियो, जसका कारण उनको ज्यान गएको हो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूको परिचय गोप्य राखिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।