हिरासत मृत्यु प्रकरणले तातियो सिन्धुली, रास्वपा सांसद प्रशासन कार्यालयमै धर्नामा


हिरासत मृत्यु प्रकरणले तातियो सिन्धुली, रास्वपा सांसद प्रशासन कार्यालयमै धर्नामा
  • नवकिरण
  • बैशाख ११, २०८३

काठमाडौं, वैशाख ११ – सिन्धुलीमा युवकको हिरासत मृत्यु भएपछि न्यायको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू जिल्ला प्रशासन कार्यालयको गेटमा धर्नामा बसेका छन्। उनीहरू बिहीबार साँझदेखि निरन्तर आन्दोलनमा रहेका छन्।

खगेन्द्र सुनारसहित रिमा विश्वकर्मा, सुस्मा स्वर्णकार, खिमा विश्वकर्मा र आशिष गजुरेल लगायतका सांसदहरू धर्नामा सहभागी छन्। स्थानीयवासी र विभिन्न क्षेत्रका व्यक्तिहरूले पनि उनीहरूलाई साथ दिएका छन्।

सुनकोशी गाउँपालिका–३ का २२ वर्षीय श्रीकृष्ण विकको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा वैशाख ७ गते मृत्यु भएको थियो। घटनापछि परिवार र आफन्त आन्दोलित बनेका हुन्।

प्रहरीले श्रीकृष्णलाई सर्टको पासो लगाएको अवस्थामा अचेत फेला पारेको दाबी गरेको छ। अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ।

तर मृतकका आफन्तले भने प्रहरी हिरासतभित्र कुटपिट गरी हत्या गरिएको आरोप लगाएका छन्। उनीहरूले निष्पक्ष छानबिन र सत्य सार्वजनिक गर्न माग गरेका छन्।

घटनापछि प्रशासनले छानबिन समिति गठन गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुसन्धान अघि बढाइएको र सत्य तथ्य बाहिर ल्याइने जनाइएको छ।

श्रीकृष्णलाई ललितपुरबाट पक्राउ गरी सिन्धुली पठाइएको थियो। उनीमाथि नाबालिगसँग सम्बन्धित मुद्दा रहे पनि परिवारले प्रेम विवाहका कारण षड्यन्त्रपूर्वक फसाइएको दाबी गरेको छ।