काठमाडौं, वैशाख १४ – माइतीघर क्षेत्रमा भएको झडप घटनापछि दुई पक्षबीच आरोप–प्रत्यारोप सुरु भएको छ। सोमबार दिउँसो भएको घटनामा संलग्न महिलाहरूबीच हातहालाहाल भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
घटनापछि शोभा पाठकले आफूलाई लक्षित गर्दै आक्रमण भएको दाबी गरेकी छन्। माइतीघर मण्डलामा बसिरहेका बेला महेश बस्नेतकी श्रीमती अम्बिका बस्नेतसहित केही व्यक्तिहरूले आफूमाथि हातपात गरेको उनले बताएकी छन्। हाल आफू उपचारका लागि ट्रमा सेन्टरमा रहेको उल्लेख गर्दै उनले सुरक्षाप्रति चिन्ता व्यक्त गरेकी छन्।
यता, नेकपा एमालेका सचिव महेश बस्नेतले भने घटनालाई फरक रूपमा प्रस्तुत गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै केही व्यक्तिहरूले आफ्नी श्रीमतीमाथि गालीगलौज र हातपात गरेको बताएका छन्। साथै, घटनापछि आफ्नी श्रीमतीसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन्।
बस्नेतले केही सञ्चार माध्यमहरूले घटनालाई गलत ढङ्गले प्रस्तुत गरेको आरोपसमेत लगाएका छन्। माइतीघरजस्तो सार्वजनिक स्थानलाई व्यक्तिको चरित्रहत्या गर्ने थलो बनाइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।
घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै बस्नेतले दोषीमाथि कारबाही नभए कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन्। प्रहरीले भने घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
