दमक, वैशाख १५ – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमप्रसाद उपाध्याय र लेखापाल दयासागर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याएको आरोपसहित विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।
आयोगका अनुसार दुवै जनाले मिलेमतोमा करिब १ करोड रुपैयाँ बराबरको अनियमितता गरेका छन्। नमुना विद्यालय भवन निर्माणका क्रममा वास्तविक खर्चभन्दा बढी देखाएर ५९ लाख २६ हजार ६८६ रुपैयाँ भुक्तानी लिएको आरोप लगाइएको छ।
यस्तै, विद्यालयको नगद मौज्दातबाट १७ लाख ९६ हजार ५२१ रुपैयाँ हिनामिना गरिएको पनि अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।
यससँगै आर्थिक वर्ष २०७७/७८ देखि देखिएको १६ लाख ६० हजार १०१ रुपैयाँ बेरुजु रकमसमेत दुरुपयोग गरिएको आरोपपत्रमा उल्लेख गरिएको छ।
आयोगले दुवैलाई कानुनी कारबाहीको दायरामा ल्याउँदै सार्वजनिक सम्पत्तिको दुरुपयोगबारे थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ।
