देउवाविरुद्ध रेड कर्नर नोटिस प्रक्रिया अघि बढ्यो, इन्टरपोलबाट अझै प्रतिक्रिया आएन


देउवाविरुद्ध रेड कर्नर नोटिस प्रक्रिया अघि बढ्यो, इन्टरपोलबाट अझै प्रतिक्रिया आएन
  • नवकिरण
  • बैशाख २३, २०८३

काठमाडौं, वैशाख २३ – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाविरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पुर्जी (रेड कर्नर नोटिस) जारी गर्न नेपाल प्रहरीले औपचारिक प्रक्रिया अघि बढाएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाउँदै प्रहरीको इन्टरपोल शाखा (एनसीबी नेपाल) ले इन्टरपोल मुख्यालयमा आवश्यक कागजातसहित अनुरोध पठाएको हो।

प्रहरी स्रोतका अनुसार देउवा हाल हङकङमा रहेको जानकारीका आधारमा उनलाई नियन्त्रणमा लिएर नेपाल ल्याउने तयारीस्वरूप पत्राचार गरिएको हो। यसका लागि कानुनी तथा प्रक्रियागत कागजातहरू पूर्ण रूपमा तयार गरी मुख्यालयमा पठाइएको जनाइएको छ।

यद्यपि, अनुरोध पठाइएको केही समय बितिसक्दा पनि इन्टरपोल मुख्यालयबाट आधिकारिक प्रतिक्रिया प्राप्त नभएकाले प्रक्रिया अन्योलमा परेको छ। रेड कर्नर नोटिस जारी भएको हो वा होइन भन्ने विषयमा स्पष्टता नआउँदा सम्बन्धित निकाय प्रतीक्षारत छन्।

प्रहरी उच्च स्रोतले इन्टरपोलको जवाफपछि मात्र थप प्रक्रिया अघि बढ्ने जनाएको छ। देउवालाई नेपाल फर्काउने वा अन्तर्राष्ट्रिय कानुनी सहयोगमार्फत कारबाही अगाडि बढाउने विषय मुख्यालयको निर्णयमा निर्भर रहनेछ।

देउवा भने निर्वाचनअघि नै श्रीमतीसहित विदेश गएका थिए। उनी सुरुमा सिंगापुर पुगेका थिए भने त्यसपछि हङकङमा बसोबास गर्दै आएको बताइएको छ।