देउवा दम्पती प्रकरण : इन्टरपोलसँग नेपाल प्रहरीको समन्वय


देउवा दम्पती प्रकरण : इन्टरपोलसँग नेपाल प्रहरीको समन्वय
  • नवकिरण
  • बैशाख २७, २०८३

काठमाडौं, वैशाख २७ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारी गराउन प्रक्रिया अघि बढाइएको छ । इन्टरपोलले थप कागजात माग गरेपछि नेपाल प्रहरीले आवश्यक विवरण पठाएको जनाएको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार इन्टरपोलबाट केही दिनअघि इमेलमार्फत थप प्रमाण मागिएको थियो । त्यसपछि एनसीबीले आवश्यक कागजात संकलन गरी पठाएको हो ।

यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतले २४ चैतमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जीपछि उनीहरूलाई नेपाल ल्याउने तयारी समेत सुरु गरिएको थियो ।

देउवा दम्पती उपचारका लागि भन्दै १४ फागुनमा सिंगापुर गएका थिए । त्यसपछि उनीहरू हङकङ पुगेको बताइएको छ । हालसम्म उनीहरू नेपाल नफर्किएको प्रहरी स्रोतले जनाएको छ ।

इन्टरपोलबाट रेड नोटिस जारी भएमा सदस्य राष्ट्रका सुरक्षा निकायले देउवा दम्पतीलाई नियन्त्रणमा लिन सक्नेछन् । त्यसपछि कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई नेपाल ल्याउन सकिने व्यवस्था रहेको छ ।