स्याङ्जा, वैशाख २९ – स्याङ्जाको पुतलीबजार नगरपालिका–४ का वडा अध्यक्ष शिवबहादुर थापा मानव बेचबिखन तथा ओसारपसारको आरोपमा पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उनलाई कास्कीबाट नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार पीडित पक्षबाट परेको उजुरीका आधारमा थापामाथि अनुसन्धान अघि बढाइएको हो। ब्युरोका प्रहरी उपरीक्षक राजन लिम्बुले घटनाको विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
नेपाली कांग्रेसबाट २०७९ सालको स्थानीय तह निर्वाचन जितेका थापा केही समय वडा अध्यक्षको भूमिकामा सक्रिय थिए। तर, २०८० भदौमा स्वास्थ्य उपचारको कारण देखाउँदै सम्पर्कबाहिर गएका उनी पछि अमेरिका पुगेको खुलेको थियो।
स्थानीय तहमा भने उनीमाथि लामो समयदेखि केही व्यक्तिलाई अवैध बाटो हुँदै अमेरिका पठाएको तथा रकम लिएर समस्यामा पारेको आरोप लाग्दै आएको थियो। अमेरिका बसाइपछि हालै नेपाल फर्किएका थापा पुनः वडा कार्यालयमा देखिन थालेका थिए।
यसबीच, उनी विदेशमा रहँदा पनि नगरपालिकाबाट सेवा–सुविधा रकम भुक्तानी भएको तथ्य सार्वजनिक भएको छ। नगरपालिकाका अनुसार २०८० भदौदेखि २०८१ असारसम्म उनले २ लाख ७६ हजार १९० रुपैयाँ बराबरको सुविधा पाएका थिए।
हाल थापा प्रहरी हिरासतमा छन् भने मानव बेचबिखनसम्बन्धी मुद्दामा थप प्रमाण संकलन र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
