सुत्केरीमाथिको व्यवहारप्रति संसदमा आक्रोश, गृहमन्त्रीसँग जवाफ माग


सुत्केरीमाथिको व्यवहारप्रति संसदमा आक्रोश, गृहमन्त्रीसँग जवाफ माग
  • नवकिरण
  • बैशाख ३१, २०८३

काठमाडौं, वैशाख ३१ – ज्ञानेन्द्र शाहीले सुकुमबासी बस्ती हटाउने क्रममा भएको प्रहरी व्यवहारप्रति आपत्ति जनाउँदै गृहमन्त्रीले तत्काल जवाफ दिनुपर्ने माग गरेका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले बस्ती हटाउने नाममा सुत्केरी महिला र बालबालिकामाथि अमानवीय व्यवहार भएको आरोप लगाए। बालबालिकालाई पुस्तकसमेत लैजान नदिई उठाइएको घटनाले राज्यको संवेदनशीलता कमजोर देखिएको उनको भनाइ थियो।

शाहीले यस्तो विषयमा सामान्य कर्मचारीको स्पष्टीकरणले नपुग्ने भन्दै गृह मन्त्रालयको नेतृत्व तह नै उपस्थित हुनुपर्ने बताए। उनले गृहमन्त्री अनुपस्थित रहने तर सञ्चारकर्मीलाई बाहिर निकाल्ने काम लोकतान्त्रिक अभ्याससँग मेल नखाने टिप्पणी गरे।

उनले सुकुमबासी समस्या केवल प्रशासनिक विषय नभई मानवीय संवेदनासँग जोडिएको मुद्दा भएकाले सरकार गम्भीर बन्नुपर्ने धारणा राखे। जिम्मेवार पक्ष उपस्थित नभएसम्म समितिको छलफल प्रभावकारी नहुने उनको भनाइ थियो।

शाहीले प्रहरी परिचालन र बस्ती व्यवस्थापनबारे गृह प्रशासनले संसद्‌लाई स्पष्ट जवाफ दिनुपर्ने अडान दोहोर्‍याउँदै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने मागसमेत गरे।