पूर्वमुख्यमन्त्री राईको प्रतिक्रिया: “सत्ता प्रयोग भएपछि प्रतिवाद अनिवार्य भयो”


पूर्वमुख्यमन्त्री राईको प्रतिक्रिया: “सत्ता प्रयोग भएपछि प्रतिवाद अनिवार्य भयो”
  • नवकिरण
  • जेष्ठ १४, २०८३

विराटनगर, जेठ १४ – कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राईले हिजो प्रदेशसभामा देखाएको प्रतिक्रिया स्वाभाविक भएको बताए ।

सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै राईले प्रतिपक्षी दलप्रति आफ्नो प्रतिवाद अनिवार्य रहेको प्रष्ट पारे । हिजो सभामुखले नीति तथा कार्यक्रममाथि बोल्न समय नदिँदा राईले सीटबाट उठेर दौडँदै रोष्ट्रममा पुगेर माइक थमाएका थिए । यसक्रममा सभामुखसमेत असहज बनेको दृश्य भिडिओमा देखिएको छ ।

राईले संसदको नियम र नियमावलीको आधारमा कोशी प्रदेशसभा संचालन नहुने आरोप लगाउँदै भने, “नियम र नियमावली प्रयोग गरेर होइन, सत्ता प्रयोग गरेर सभा चलाउन खोजेपछि यसको प्रतिवादमा उत्रिन बाध्य भए । जसलाई जे लागे पनि लागोस्, यस्तै अवस्था दोहोरिन सक्छ।”

पूर्वमुख्यमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेतालाई बोल्न समयसीमा तोकिएकोमा राईले असन्तुष्टि व्यक्त गरेका छन् । उनका अनुसार, प्रतिनिधिसभा र प्रदेशसभामा विगतमा पूर्वप्रधानमन्त्री र पूर्वमुख्यमन्त्री र प्रतिपक्षी दलका नेतालाई बोल्न समयसीमा नलगाउने प्रचलन रहेको छ ।

राईले थपे, “गत बजेट अधिवेशनमा पनि मलाई समयसीमा तोक्नुपर्छ भनेर विवाद उठ्यो, तर अन्ततः सबै दलका नेतासहित बैठक गरेर लिखित सहमति भयो कि समयसीमा नतोकिने । तर यसपटक पूर्वमुख्यमन्त्री मात्र होइन, प्रमुख प्रतिपक्षी दल नेता इन्द्र आङ्वोलाई समेत समय अभावको कारण देखाएर बोल्न नदिने प्रयास भयो। सात मिनेटको समयसीमा तोक्नुपर्छ भनेर पुनः विवाद उठ्यो।”

कोशी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव पेश गर्न नदिई ध्वनि मतले पारित गरेपछि प्रतिपक्षी दलले लगातार अवरोध गर्दै आएको छ ।