सम्पत्ति शुद्धीकरण मुद्दामा तुलसी अधिकारीसँग आज पनि बयान


सम्पत्ति शुद्धीकरण मुद्दामा तुलसी अधिकारीसँग आज पनि बयान
  • नवकिरण
  • जेष्ठ २०, २०८३

काठमाडौं, जेठ २० – सामाजिक सञ्जाल टिकटकमार्फत परिचित बनेका तुलसी अधिकारीविरुद्ध दायर मुद्दाको सुनुवाइ ललितपुर जिल्ला अदालतमा निरन्तर भइरहेको छ। अदालतमा उनको बयान तेस्रो दिन पनि जारी रहेको छ।

न्यायाधीश टेकनाथ गौतमको इजलासमा भइरहेको बयान प्रक्रिया आज सम्पन्न भएमा त्यसलगत्तै थुनछेक बहस सुरु हुने जनाइएको छ। बहसपछि अदालतले अधिकारीलाई थुनामा राख्ने वा अन्य कुनै सर्तमा रिहा गर्ने विषयमा आदेश जारी गर्नेछ।

अधिकारीलाई केही दिनअघि थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएको थियो। उनीमाथि सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ आर्जन तथा ठगीसम्बन्धी आरोप लगाइएको छ।

जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले एक व्यवसायीको उजुरीका आधारमा उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको थियो। उक्त मुद्दामा अधिकारीसहित १० जनालाई प्रतिवादी बनाइएको छ।