सोह्रखुट्टे वृत्तमा गुरुङको भेटघाटमाथि प्रश्नैप्रश्न, प्रहरी भन्छ के कुरा भयो थाहा छैन


सोह्रखुट्टे वृत्तमा गुरुङको भेटघाटमाथि प्रश्नैप्रश्न, प्रहरी भन्छ के कुरा भयो थाहा छैन
  • नवकिरण
  • जेष्ठ २२, २०८३

काठमाडौं, जेठ २२ – भारतीय दूतावास अगाडि प्रदर्शनका क्रममा पक्राउ परेका युवासँग पूर्वगृहमन्त्री सुधन गुरुङले प्रहरी हिरासतमा पुगेर भेट गरेको विषय सार्वजनिक भएपछि त्यसबारे चर्चा सुरु भएको छ।

राष्ट्रिय जेन्जी नागरिक अभियानले सार्वजनिक गरेको विज्ञप्तिमा गुरुङले हिरासतमा रहेका प्रदर्शनकारीमाथि धम्कीपूर्ण र अपमानजनक व्यवहार गरेको आरोप लगाइएको छ। अभियानका अनुसार गुरुङले युवाहरूलाई विभिन्न प्रश्न गर्दै मानसिक दबाब दिने खालका अभिव्यक्ति दिएका थिए।

यता प्रहरीले भने पूर्वगृहमन्त्री गुरुङ प्रहरी वृत्त सोह्रखुट्टे पुगेको स्वीकार गरे पनि त्यहाँ भएको संवादबारे आधिकारिक जानकारी नभएको जनाएको छ। काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईले गुरुङको उपस्थितिको पुष्टि गर्दै घटनाको विस्तृत विवरण आफूहरूसँग नरहेको बताए।

कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग भएको भन्दै भारतीय दूतावास नजिक प्रदर्शन गरेका युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। निषेधित क्षेत्रभित्र प्रदर्शन गरिएको भन्दै पक्राउ गरिएका उनीहरूलाई केही समय सोह्रखुट्टे वृत्तमा राखेर पछि रिहा गरिएको प्रहरीको भनाइ छ।

हिरासतमा रहेका नागरिकसँग प्रभावशाली राजनीतिक व्यक्तिहरूको प्रत्यक्ष हस्तक्षेप र व्यवहारले कानुनी प्रक्रिया तथा नागरिक अधिकारमाथि प्रश्न उठ्ने अभियानको दाबी छ। घटनाबारे थप तथ्य सार्वजनिक हुन बाँकी रहेको प्रहरीले जनाएको छ।