‘नेपाली ब्रो’ प्रकरणमा निष्पक्ष अनुसन्धानको माग गर्दै प्रहरी कार्यालय पुगे सुधन गुरुङ


‘नेपाली ब्रो’ प्रकरणमा निष्पक्ष अनुसन्धानको माग गर्दै प्रहरी कार्यालय पुगे सुधन गुरुङ
  • नवकिरण
  • जेष्ठ २३, २०८३

काठमाडौं, जेठ २३ – श्रीमतीको हत्या आरोपमा पक्राउ परेका ‘नेपाली ब्रो’ नामले परिचित कुमार थापामाथि निष्पक्ष र गहिरो अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङले माग गरेका छन्।

काठमाडौं महानगरपालिका–तारकेश्वर–६, लोलाङ पैँयुटारमा भएको घटनामा ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु भएपछि गुरुङ शनिबार बालाजु प्रहरी वृत्त पुगेका थिए। उनले घटनाको सत्यतथ्य बाहिर ल्याउन प्रहरीलाई आग्रह गरेका छन्।

प्रहरीका अनुसार घरायसी विवादका क्रममा थापाले फलामको रड प्रहार गर्दा गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।

प्रहरी कार्यालय पुगेका गुरुङले मृतककी आमा र दिदीसँग भेटघाट गर्दै घटनाबारे जानकारी लिएका थिए। गोरखा निवासी भुजेल नेपाली सेनामा कार्यरत रहेको बताइएको छ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका थापामाथि थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।