भाइरल भिडियोपछि प्रहरीको कारबाही : युवतीलाई खुकुरी देखाएर कुटपिट गर्ने युवक पक्राउ


भाइरल भिडियोपछि प्रहरीको कारबाही : युवतीलाई खुकुरी देखाएर कुटपिट गर्ने युवक पक्राउ
  • नवकिरण
  • अषाढ ३, २०८३

दाङ, असार ३ – तुलसीपुरमा एक युवतीमाथि खुकुरी देखाएर दुर्व्यवहार तथा कुटपिट गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनाको अनुसन्धान गरी आरोपीलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–२ का २४ वर्षीय रमेश ठाडामगर रहेका छन्। उनलाई मंगलबार राति घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा अर्का २१ वर्षीय जिबराज खत्रीलाई पनि नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

प्रहरी अनुसन्धानबाट उक्त भिडियो केही महिनाअघि रातिको समयमा खिचिएको खुलेको छ। भिडियोमा रमेशले एक युवतीलाई अपशब्द प्रयोग गर्दै धम्की दिएको र खुकुरीको बट्टाले प्रहार गरेको देखिन्छ।

प्रहरीका अनुसार पीडित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

यता पक्राउ परेका रमेशको साथबाट विभिन्न प्रकारका लागुऔषधसमेत बरामद गरिएको छ। प्रहरीले उनको साथबाट ट्रोमो, नाइट्राजेपाम, एन्टिकोप तथा प्रेगाम्याक्स गरी करिब ५० ट्याब्लेट फेला पारेको जनाएको छ।

घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।