सार्वजनिक कार्यक्रममा वडाध्यक्ष–पत्रकार बीच लडाई, हात हालेपछि पत्रकार पक्राउ


सार्वजनिक कार्यक्रममा वडाध्यक्ष–पत्रकार बीच लडाई, हात हालेपछि पत्रकार पक्राउ
  • नवकिरण
  • अषाढ ८, २०८३

धनगढी, असार ८ – कञ्चनपुरमा एक सार्वजनिक कार्यक्रमका क्रममा भएको विवादपछि पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन्। भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि हातपात गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

महेन्द्रनगरस्थित होटलमा आयोजित कार्यक्रममा दुवै पक्षबीच भनाभन भएको र त्यसक्रममा हातपातसमेत भएको बताइएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा कुँवरले वडाध्यक्षमाथि मुक्का प्रहार गरेको देखिएको दाबी गरिएको छ।

घटनापछि वडाध्यक्ष देवकोटाले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा अभद्र व्यवहारसम्बन्धी जाहेरी दिएका छन्। सोही जाहेरीका आधारमा कुँवरलाई हिरासतमा राखी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यद्यपि पत्रकार कुँवरले भने आफू नै दुर्व्यवहारको शिकार बनेको दाबी गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत वडाध्यक्षले अनुचित व्यवहार गरेको आरोप लगाउँदै आफ्नो पक्ष सार्वजनिक गरेकी छन्।

घटनालाई लिएर स्थानीय स्तरमा चर्चा बढिरहेको छ भने प्रहरीले दुवै पक्षका भनाइ र उपलब्ध प्रमाणका आधारमा थप अनुसन्धान गरिरहेको जनाएको छ।