विष्णु पौडेललाई सुर्खेतबाट काठमाडौं ल्याइ सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइयो


विष्णु पौडेललाई सुर्खेतबाट काठमाडौं ल्याइ सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइयो
  • नवकिरण
  • अषाढ ९, २०८३

काठमाडौं, असार ९ – नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ। उनलाई मंगलबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको स्रोतले जनाएको छ।

पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउपछि उनलाई स्थलमार्ग हुँदै रातारात काठमाडौं ल्याइएको जनाइएको छ।

अनुसन्धानसँग सम्बन्धित स्रोतका अनुसार पौडेलमाथि शंकास्पद स्रोतबाट आर्जित सम्पत्ति तथा सेयर कारोबारबारे छानबिन भइरहेको छ। सोही अनुसन्धानको सिलसिलामा उनलाई नियन्त्रणमा लिइएको बताइएको छ।

पौडेललाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाउने तयारी भइरहेको छ। यसअघि अनुसन्धान टोलीले उनको निजी निवासमा समेत खानतलासी गरेको थियो।

घटनाले राष्ट्रिय राजनीतिक वृत्तमा व्यापक चासो उत्पन्न गरेको छ भने विभागले अनुसन्धान प्रक्रिया जारी रहेको जनाएको छ।