‘बाबा बन्ने’ भन्दै शवदाह स्थलमा अशोभनीय गतिविधि, चार पक्राउ


‘बाबा बन्ने’ भन्दै शवदाह स्थलमा अशोभनीय गतिविधि, चार पक्राउ
  • नवकिरण
  • अषाढ १०, २०८३

विराटनगर, असार १० – विराटनगरको परोपकार घाट क्षेत्रमा रातको समयमा शंकास्पद तथा अशोभनीय गतिविधि गरिरहेको आरोपमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। शवदाह स्थल नजिकै असामान्य व्यवहार गर्दै होहल्ला मच्चाएको सूचनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले आफूहरू धार्मिक साधनामा रहेको दाबी गरे पनि उनीहरूको गतिविधिले स्थानीय समुदायमा त्रास फैलाएको थियो। राति चिता तयार गरिने स्थानमा आगो बाल्ने, अनौठा हर्कत गर्ने तथा सार्वजनिक मर्यादाविपरीत व्यवहार गरेको आरोप उनीहरूमाथि लागेको छ।

स्थानीयवासीले खिचेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले थप चर्चा पाएको थियो। भिडियोमा केही व्यक्ति अर्धनग्न तथा निर्वस्त्र अवस्थामा देखिएका छन् भने उनीहरूले होहल्ला र अशोभनीय व्यवहार गरेको देखिन्छ।

मोरङ प्रहरीले घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू मदिराको प्रभावमा रहेको आशंका गरिएको छ।

घटनाबारे थप तथ्य संकलन भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।