काठमाडौं, असार २३ – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सात दिनभित्र विभागमा उपस्थित भएर बयान दिन सूचना जारी गरेको छ।
विभागका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेकाले सोमबार बूढानीलकण्ठस्थित उनको ठेगानामा उपस्थितिको सूचना टाँस गरिएको हो।
यसअघि सोही प्रकरणमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणा देउवाका नाममा पनि अनुसन्धानका लागि पुर्जी जारी भइसकेको छ।
जयवीर देउवामाथि नेपाल टेलिकमको बिलिङ प्रणाली र ई–पासपोर्ट खरिदसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोपमा विभिन्न निकायमा उजुरी परेको छ। ती उजुरीमाथि अनुसन्धान जारी रहेकाले विभागले बयानका लागि बोलाएको बताइएको छ।
तोकिएको सात दिनभित्र उपस्थित नभए कानुनअनुसार थप प्रक्रिया अघि बढ्न सक्ने जनाइएको छ।
