सुर्खेत, साउन १ – १६ वर्षीया इनिशा विकको बलात्कार तथा हत्या प्रकरणमा सार्वजनिक भएको फरेन्सिक प्रतिवेदनले पक्राउ परेका चार किशोरमध्ये मुख्य अभियुक्तको मात्र डीएनए पीडित र घटनास्थलबाट संकलित नमुनासँग मेल खाएको देखाएको छ। अन्य तीन किशोरको डीएनए भने कुनै पनि नमुनासँग नमिलेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
घटनापछि चारै जनाविरुद्ध सामूहिक बलात्कार र हत्याको अभियोग दर्ता गरी अदालतको आदेशमा उनीहरूलाई पुर्पक्षका लागि बाल सुधार गृह पठाइएको थियो। त्यसबेला भने डीएनए र सेरोलोजी परीक्षणको अन्तिम प्रतिवेदन आइसकेको थिएन।
फरेन्सिक परीक्षणले मुख्य अभियुक्तको शरीर, कपडा तथा घटनास्थलबाट बरामद गरिएका जैविक नमुनामा पीडितको डीएनए भेटिएको पुष्टि गरेको छ। तर अन्य तीन किशोरसँग सम्बन्धित कुनै पनि जैविक प्रमाण घटनासँग नजोडिएको प्रतिवेदनमा उल्लेख छ।
यसअघि प्रहरीले मुख्य अभियुक्तलाई बलात्कार र हत्यामा तथा अन्य तीन जनालाई घटनास्थल पुगे पनि पीडितलाई बचाउन भूमिका नखेलेको आधारमा कारबाही गर्न सिफारिस गरेको थियो। तर सरकारी वकिल कार्यालयले चारै जनाविरुद्ध समान अभियोग दायर गरेको थियो।
कानुनी रूपमा भने फरेन्सिक प्रतिवेदन मात्र अन्तिम आधार नहुने भएकाले अदालतले उपलब्ध सबै प्रमाण, साक्षी र बहसका आधारमा अन्तिम फैसला गर्नेछ। हाल यो बहुचर्चित मुद्दाको सुनुवाइ अदालतमा जारी छ।
