विराटनगर, साउन ११ – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको झडप हिंसात्मक बनेपछि स्थानीय प्रशासनले जिल्लाका पाँच प्रमुख बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु लागू गरेको छ।
आइतबार राति भएको घटनामा स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा २४ वर्षीय ओमप्रकाश मेहता को मृत्यु भएको छ। प्रहरीको गोली लागेर अन्य आठ जना घाइते भएका छन्, जसमध्ये केहीको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाइएको छ।
घटनापछि सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको आदेशमा सोमबार बिहान ७ बजेदेखि हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा कर्फ्यु लागू गरिएको हो। कर्फ्यु अवधिभर ती क्षेत्रमा सर्वसाधारणको आवतजावत, भेला, जुलुस तथा सार्वजनिक कार्यक्रम गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।
प्रशासनका अनुसार साउने सोमबारका अवसरमा बोलबम यात्राको तयारी गरिरहेको एक समूह र रातिको समयमा ठूलो आवाजमा डिजे बजाइएको भन्दै विरोध गर्ने अर्को समूहबीच विवाद सुरु भएको थियो। सामान्य विवाद केहीबेरमै झडपमा परिणत भएपछि स्थिति नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गर्नुपरेको बताइएको छ।
घटनापछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेर सम्भावित थप हिंसा रोक्न कर्फ्यु र निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको हो। हाल प्रभावित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा व्यवस्था कडा पारिएको छ भने अवस्था सामान्य बनाउन निगरानी बढाइएको प्रशासनले जनाएको छ।
