झापा, साउन १२ – झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा कार्यरत एक शिक्षिकाको शव फेला परेको छ। घटनापछि उनका श्रीमान् सम्पर्कविहीन भएपछि प्रहरीले खोजीलाई तीव्र बनाएको छ।
मृतक सर्लाहीको लालबन्दी–२ निवासी २९ वर्षीया कविताकुमारी ढुङ्गाना रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनी आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरमै रहेको आवासीय कोठामा बस्दै आएकी थिइन्। गुप्ता पर्साको वीरगञ्ज–१६ निवासी हुन्। दुवै जना गत वैशाख महिनादेखि उक्त विद्यालयमा अध्यापन गर्दै आएका थिए।
विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलका अनुसार साउन ५ गतेदेखि विद्यालय बिदामा रहेको थियो। सोमबार विद्यालय पुनः सञ्चालन भएपछि दुवै शिक्षक सम्पर्कमा नआएपछि विद्यालय प्रशासनले उनीहरूसँग सम्पर्क गर्ने प्रयास गरेको थियो। तर फोन नलागेपछि उनीहरू बस्ने कोठामा पुग्दा बाहिरबाट ताला लगाइएको अवस्थामा भेटिएको थियो।
प्रधानाध्यापक लुइँटेलका अनुसार साँझ करिब ४:३० बजे रतन गुप्ताले आफ्नो वाट्सएपमा सन्देश पठाउँदै श्रीमती झुन्डिएको अवस्थामा फेला परेको, आफूले शव अर्को कोठामा सारेको र डरका कारण त्यहाँबाट निस्किएको उल्लेख गरेका थिए। साथै कानुनी प्रक्रिया पूरा गर्न कोठाको ताला खोलिदिन अनुरोधसमेत गरेका थिए।
स्थानीयका अनुसार गुप्तालाई आइतबार साँझ करिब ५ बजेतिर दुईवटा झोला बोकेर विद्यालय परिसरबाट बाहिरिँदै गरेको देखिएको थियो। त्यसयता उनी सम्पर्कमा नआएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाले घटनाको सबै कोणबाट अनुसन्धान भइरहेको जानकारी दिए। उनका अनुसार शव पोस्टमार्टमका लागि पठाइएको छ भने मृत्युको वास्तविक कारण खुल्न बाँकी छ। सम्पर्कविहीन रहेका रतन गुप्ताको खोजी कार्य पनि जारी रहेको प्रहरीले जनाएको छ।
