वीरगञ्ज, साउन १२ – वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकहरूले आफूहरूमाथि भएको आक्रमण र प्रशासनबाट भएको व्यवहारको विरोध गर्दै सामूहिक रूपमा राजीनामा दिएका छन्। आन्दोलनका कारण अस्पतालको नियमित सेवा प्रभावित भएको छ भने आकस्मिक सेवासमेत अवरुद्ध भएको चिकित्सकहरूले बताएका छन्।
अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहका अनुसार अस्पतालमा कार्यरत करिब ७० चिकित्सकमध्ये ४० जनाले राजीनामा बुझाइसकेका छन्। अन्य चिकित्सकहरूले पनि राजीनामा प्रक्रियामा सहभागी हुने तयारी गरिरहेको उनले जानकारी दिए।
चिकित्सकहरूको भनाइअनुसार अस्पतालमा भएको कुटपिट घटनामा संलग्न व्यक्तिलाई कारबाही गर्ने आश्वासनपछि उनीहरू जिल्ला प्रशासन कार्यालयमा छलफलका लागि पुगेका थिए। तर, छलफलकै क्रममा प्रशासनिक नेतृत्वबाट अपमानजनक व्यवहार भएको र प्रहरी परिचालन गरी चिकित्सकहरूलाई नियन्त्रणमा लिने प्रयास गरिएको आरोप उनीहरूको छ।
चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखको जिम्मेवारीमाथि प्रश्न उठाउँदै उनीहरू पदमा रहुञ्जेल काममा नफर्किने अडान सार्वजनिक गरेका छन्। सुरक्षित कार्य वातावरण नहुँदासम्म उपचार सेवा सञ्चालन गर्न नसकिने उनीहरूको भनाइ छ।
यस घटनापछि अस्पतालको सेवा प्रभावित भएको छ। सबै चिकित्सकले राजीनामा कार्यान्वयन गरे आकस्मिकसहित अधिकांश स्वास्थ्य सेवा ठप्प हुने अवस्था सिर्जना हुन सक्ने चिन्ता पनि व्यक्त गरिएको छ।
उता, नेपाल चिकित्सक संघले पनि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथिको आक्रमणको विरोध गर्दै मंगलबार देशभर आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ। संघले दोषीमाथि तत्काल कानुनी कारबाही, स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित तथा यस्ता घटना दोहोरिन नदिने वातावरण बनाउन सरकारसँग माग गरेको छ।
गत साउन ८ गते नारायणी अस्पतालमा चिकित्सक डा. प्रमोद राममाथि कुटपिट हुनुका साथै अस्पतालमा तोडफोड भएको थियो। गम्भीर घाइते भएका डा. रामको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
