संघीय निर्णय अस्वीकार गर्दै गोरखामा भोलिदेखि कक्षा सञ्चालन सुरु गरिँदै


संघीय निर्णय अस्वीकार गर्दै गोरखामा भोलिदेखि कक्षा सञ्चालन सुरु गरिँदै
  • नवकिरण
  • बैशाख ६, २०८३

गोरखा, वैशाख ६ – गोरखाका सामुदायिक विद्यालयहरू भोलि सोमबारदेखि सञ्चालनमा आउने भएका छन्। स्थानीय तहहरूले वैशाख ७ गतेदेखि नै पठनपाठन सुरु गर्ने निर्णय गरेका हुन्।

संघीय सरकारले वैशाख २१ गतेबाट मात्र नयाँ शैक्षिक सत्र सुरु गर्ने भने पनि उक्त निर्णय व्यवहारिक नभएको भन्दै जिल्लाका पालिकाहरूले वैकल्पिक निर्णय गरेका छन्।

जिल्ला समन्वय समितिको पहलमा बसेको पालिका प्रमुखहरूको बैठकले शिक्षा मन्त्रालयका परिपत्रहरूमा असन्तुष्टि जनाउँदै तत्काल विद्यालय खोल्ने निष्कर्ष निकालेको हो।

स्थानीय जनप्रतिनिधिहरूले संघीय निर्देशनअनुसार अघि बढ्दा शैक्षिक सत्रमा अन्योल सिर्जना हुने र पठनपाठन प्रभावित हुने बताएका छन्। उनीहरूले छिटो नयाँ शिक्षा ऐन ल्याउन पनि जोड दिएका छन्।

अभिभावकहरूको अपेक्षा अनुरूप भोलिदेखि नै भर्ना प्रक्रिया र कक्षा सञ्चालन सँगै अघि बढाइने जानकारी दिइएको छ।

यसैबीच, संघीय सरकारले रोक्का गरेको विकास बजेट फुकुवा गर्न पनि स्थानीय तहहरूले माग गरेका छन्।