अनलाइन प्रणालीमार्फत घरबाटै एनओसी उपलब्ध हुने, विद्यार्थीलाई राहत


अनलाइन प्रणालीमार्फत घरबाटै एनओसी उपलब्ध हुने, विद्यार्थीलाई राहत
  • नवकिरण
  • बैशाख ६, २०८३

काठमाडौं, वैशाख ६ – वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ अब पूर्ण रूपमा अनलाइन प्रणालीबाट उपलब्ध हुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सेवा प्रवाहलाई सहज बनाउँदै विद्यार्थीलाई घरमै बसेर आवेदन दिने व्यवस्था लागू गरेको हो।

मन्त्रालय अन्तर्गतको एनओसी शाखाले त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयसँग प्रणालीगत अन्तरआवद्धता सम्पन्न गरेपछि सेवा थप प्रभावकारी बनेको हो। यसका लागि त्रिविसँग हालै सम्झौता गरिएको थियो भने केयूसँग यसअघि नै सहकार्य भइसकेको थियो।

नयाँ व्यवस्थापछि विद्यार्थीहरूले एनओसीका लागि अनलाइन आवेदन दिनुका साथै प्रक्रिया पूरा भएपछि आफ्नै खाताबाट प्रमाणपत्र डाउनलोड गर्न सक्नेछन्। प्रमाणपत्रमा क्यूआर कोड समावेश गरिएकाले यसको विश्वसनीयता सजिलै पुष्टि गर्न सकिनेछ।

यसअघि उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीले प्रमाणपत्र प्रमाणीकरणका लागि अनिवार्य रूपमा कार्यालय पुग्नुपर्ने अवस्था थियो। अब भने विश्वविद्यालय प्रणालीसँगको प्रत्यक्ष जोडले यस्तो झन्झट हटाएको छ।

नागरिकता र शैक्षिक विवरण क्रमशः गृह मन्त्रालयको सिआइएमएस र राष्ट्रिय परीक्षा बोर्डको प्रणालीमार्फत स्वतः प्रमाणीकरण हुने व्यवस्था गरिएको छ। यसले सेवा प्रवाहलाई छिटो र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।

त्यस्तै, एनओसीसम्बन्धी राजस्व भुक्तानी पनि रिमास प्रणालीमार्फत अनलाइनबाटै हुने भएको छ। स्वीकृत भएपछि आवेदकले पेपरलेस प्रमाणपत्र डाउनलोड गरी प्रयोग गर्न सक्नेछन्, जसले प्रक्रिया थप सरल बनाएको छ।