माग पूरा नभएपछि फेरि आमरण अनसनमा डा. गोविन्द केसी


माग पूरा नभएपछि फेरि आमरण अनसनमा डा. गोविन्द केसी
  • नवकिरण
  • श्रावण ७, २०८३

काठमाडौं, साउन ७ – चिकित्सा शिक्षा सुधार, स्वास्थ्य सेवा र सुशासनको माग गर्दै आएका डा. गोविन्द केसीले आजदेखि आफ्नो २४औँ आमरण अनसन सुरु गर्दैछन्। कैलालीको धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा दिउँसो ३ बजेदेखि उनी सत्याग्रहमा बस्ने कार्यक्रम रहेको छ।

डा. केसीले सरकारले विगतमा आफूहरूसँग भएका सहमति कार्यान्वयन नगरेको र पटक–पटक उठाइएका मागलाई बेवास्ता गरेको आरोप लगाएका छन्। माग सम्बोधनका लागि सरकारले साउन ५ गतेसम्म समय मागे पनि कुनै प्रभावकारी निर्णय नगरेपछि फेरि आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ।

डा. केसीका सहयोगी डा. अमृत जैसीका अनुसार निर्धारित समयभित्र सरकारबाट कुनै सकारात्मक पहल नआएकाले आन्दोलन अपरिहार्य बनेको हो। सत्याग्रहअघि डा. केसी सुदूरपश्चिमका विभिन्न जिल्लामा पुगेर स्थानीय नागरिक तथा सरोकारवालासँग भेटघाट र छलफलमा सक्रिय रहेका थिए।

बुधबार जारी विज्ञप्तिमा डा. केसीले नागरिकको स्वास्थ्य अधिकार, गुणस्तरीय चिकित्सा शिक्षा र पारदर्शी स्वास्थ्य प्रणालीका लागि आफ्नो अभियान निरन्तर रहेको उल्लेख गरेका छन्। मागप्रति सरकार गम्भीर नबने त्यसबाट सिर्जना हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकारले नै वहन गर्नुपर्ने चेतावनी पनि उनले दिएका छन्।

यसपटकको आन्दोलनमा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा भएका भनिएका विवादास्पद नियुक्ति खारेज गर्नुपर्ने, चिकित्सा शिक्षा सम्बन्धी कानुनका विवादित प्रावधान संशोधन गर्नुपर्ने तथा नियुक्ति प्रक्रियामा राजनीतिक हस्तक्षेप र स्वार्थको द्वन्द्व अन्त्य गर्नुपर्ने मागलाई उनले प्राथमिकतामा राखेका छन्।