काठमाडौं, वैशाख २४ – प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म मालती मंगले ले प्रिमियर शोमै सकारात्मक प्रतिक्रिया बटुलेको छ । बुधबार साँझ काठमाडौंको लबिम हलमा आयोजित विशेष प्रदर्शनमा राजनीतिक व्यक्तित्वदेखि कलाकार र सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति देखिएको थियो ।
फिल्म हेरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ले चलचित्रले समाजका वास्तविक कथा बोलेको टिप्पणी गरे । उनले फिल्म मनोरञ्जनसँगै भावनात्मक पक्षले पनि दर्शकलाई बाँधेर राख्ने बताए ।
रविले कलाकारहरूको अभिनय, संवाद र निर्देशन पक्षको खुलेर प्रशंसा गर्दै निर्देशक प्रकु पाण्डे को काम परिपक्व रहेको प्रतिक्रिया दिए । “नयाँ निर्देशकको काम जस्तो कतै लागेन,” उनले भने ।
पछिल्लो समय सामाजिक सञ्जालमा आलोचनाको सामना गरिरहेका निर्माता रामकृष्ण ढकाल लाई लक्षित गर्दै रविले आलोचनाबाट नआत्तिन आग्रह गरे । उनले संगीत क्षेत्रमा ढकालले पुर्याएको योगदान उल्लेख गर्दै आफ्नो साथ सधैं रहने संकेत दिए ।
फिल्ममा विजय बराल र वर्षा राउत को अभिनयलाई प्रिमियरमा धेरैले उत्कृष्ट भनेका छन् । विशेषगरी वर्षाको अभिनयलाई लिएर दर्शकले उच्च प्रशंसा गरेका थिए ।
