काठमाडौं, १८ वैशाख — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका लागि जापानका राजदूत मायदा टोरुबीच बिहीबार काठमाडौंमा भेटवार्ता भएको छ।
काठमाडौंस्थित जापानी दूतावासका अनुसार भेटवार्तामा काठमाडौं महानगरपालिकाको भविष्यको विकास योजना, सहकार्यका सम्भावना, शहरी योजना, पूर्वाधार विकास तथा महानगरको सौन्दर्य अभिवृद्धिका विषयमा गहन छलफल भएको हो।
भेटमा जापानले काठमाडौं दरबार स्क्वायर क्षेत्रको वातावरणीय सुधार, सडक पुनःनिर्माण, ढुंगेधारा पुनर्संरचना तथा बहुउद्देश्यीय मार्शल आर्ट केन्द्रजस्ता क्षेत्रमा प्रदान गर्दै आएको सहयोगको पनि चर्चा गरिएको थियो।
राजदूत मायदाले जापान काठमाडौंसँग सहकार्य गर्न तयार रहेको जनाउँदै आगामी दिनमा आपसी सम्बन्ध थप प्रगाढ बनाउने इच्छा व्यक्त गरे। मेयर बालेनले पनि जापानी सहयोगप्रति आभार व्यक्त गर्दै विकास निर्माणका काममा सहकार्यलाई प्राथमिकता दिने बताए।