काठमाडौँ, वैशाख २६ – भारतका विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण अन्तिम समयमा स्थगित भएको छ । वैशाख २८ गते नेपाल आउने तयारीमा रहेका मिस्रीको भ्रमण सीमा विवादको संवेदनशील अवस्थाबीच रोकिएको स्रोतहरूले बताएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिने उद्देश्यसहित मिस्री नेपाल आउने तयारीमा थिए । यद्यपि भ्रमणबारे नेपाल र भारत दुवैले औपचारिक घोषणा गरेका थिएनन् ।
गत केही समययता लिपुलेक सीमा विवाद फेरि चर्चामा आएपछि भ्रमण स्थगित गरिएको बताइएको छ । नेपालमा लिपुलेक विषयमा विरोधका आवाज उठ्न थालेपछि यस्तो अवस्थामा उच्चस्तरीय भ्रमण उपयुक्त नहुने निष्कर्ष निकालिएको स्रोतको दाबी छ ।
भारतीय समाचार एजेन्सी एएनआईले पनि मिस्रीको दुईदिने नेपाल भ्रमण अन्तिम समयमा रद्द भएको जनाएको छ । भारतीय विदेश मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै भ्रमण अप्रत्याशित रूपमा स्थगित गरिएको उल्लेख गरिएको छ ।
यता नेपालका परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले भने भ्रमण स्थगित हुनु र सीमा विवादबीच प्रत्यक्ष सम्बन्ध नरहेको बताएका छन् । उनले नेपाल–भारत सम्बन्ध एउटा मुद्दाले मात्रै प्रभावित नहुने प्रतिक्रिया दिएका छन् ।
पूर्वराजदूत नीलाम्बर आचार्य र अन्तर्राष्ट्रिय मामिलाका जानकार टीका ढकालले भने भ्रमण स्थगित हुनु राम्रो संकेत नभएको बताएका छन् । उनीहरूले नेपाल–भारत सम्बन्धमा निरन्तर संवाद र भेटघाट आवश्यक रहेको धारणा राखेका छन् ।
