रास्वपा सभापति रवि लामिछाने र मोदीबीच महत्वपूर्ण वार्ता, केके भयो कुराकानी?


रास्वपा सभापति रवि लामिछाने र मोदीबीच महत्वपूर्ण वार्ता, केके भयो कुराकानी?
  • नवकिरण
  • जेष्ठ २०, २०८३

काठमाडौं, जेठ २० – भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचको सम्बन्ध, आपसी सहयोग तथा साझा हितका विविध विषयमा कुराकानी भएको जनाइएको छ।

भारतीय प्रधानमन्त्री मोदीले लामिछानेसँगको भेटलाई सकारात्मक भन्दै नेपालसँग सहकार्यलाई थप सुदृढ बनाउन भारत तयार रहेको बताएका छन्। उनले साझा समृद्धि र विकासका लक्ष्य हासिल गर्न दुवै देशबीच निकट सहकार्य आवश्यक रहेको धारणा राखेका छन्।

पाँचदिने भारत भ्रमणमा रहेका लामिछानेलाई मंगलबार भारतीय जनता पार्टी (भाजपा) मुख्यालयमा स्वागत गरिएको थियो। सो अवसरमा भाजपा अध्यक्ष नितिन नवीनलगायत नेताहरूसँग उनको भेटघाट भएको थियो।

यसअघि उनले भारतीय विदेशमन्त्री एस. जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि भेटवार्ता गरी द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सहकार्य तथा समसामयिक राजनीतिक विषयमा छलफल गरेका थिए।

भाजपाको निमन्त्रणामा जेठ १८ गते भारत पुगेको रास्वपाको प्रतिनिधिमण्डलको नेतृत्व लामिछानेले गरिरहेका छन्। भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटघाटलाई नेपाल–भारत राजनीतिक सम्बन्धको दृष्टिले चासोका साथ हेरिएको छ।