३६ दिन लामो आन्दोलनपछि भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा


३६ दिन लामो आन्दोलनपछि भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा
  • नवकिरण
  • श्रावण ९, २०८३

काठमाडौं, साउन ९ – भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिएका छन्। निट (NEET) परीक्षा प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर उनीमाथि बढ्दो राजनीतिक दबाब र ३६ दिनदेखि जारी आन्दोलनका बीच उनले पद त्याग गरेका हुन्।

दिल्लीस्थित जन्तर–मन्तरमा कक्रोच जनता पार्टी (सीजेपी) को नेतृत्वमा विगत करिब एक महिनादेखि शिक्षामन्त्री प्रधानको राजीनामा माग गर्दै प्रदर्शन भइरहेको थियो। निट परीक्षा विवादका कारण देशका विभिन्न राज्यमा पनि विरोध प्रदर्शन चर्किएको थियो।

राजीनामाबारे जानकारी दिँदै प्रधानले सामाजिक सञ्जाल एक्समार्फत वर्तमान परिस्थितिलाई थप जटिल बन्न नदिन आफूले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको बताएका छन्। उनले देशको एकता कायम रहोस्, विद्यार्थीहरूको भविष्य कानुनी अन्योलमा नपरोस् र उनीहरू अध्ययन तथा करियर निर्माणमा केन्द्रित हुन सकून् भन्ने उद्देश्यले उक्त निर्णय लिएको उल्लेख गरेका छन्।

निट परीक्षा विवादपछि विपक्षी दलहरूले पनि सरकारमाथि दबाब बढाउँदै शिक्षामन्त्री प्रधानको राजीनामा माग गर्दै आएका थिए। कांग्रेससहितका विभिन्न विपक्षी दलले सरकारको भूमिका र परीक्षा प्रणालीमाथि प्रश्न उठाउँदै आन्दोलनलाई समर्थन गरेका थिए।