माइतीघरमा सुकुमबासीको आक्रोश, सरकारविरुद्ध चर्कियो आन्दोलन


माइतीघरमा सुकुमबासीको आक्रोश, सरकारविरुद्ध चर्कियो आन्दोलन
  • नवकिरण
  • अषाढ २८, २०८३

काठमाडौं, असार २८ – संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले सुकुमबासीमाथि भइरहेको अन्यायको अन्त्य र उचित पुनःस्थापनाको माग गर्दै आइतबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।

प्रदर्शनकारीहरूले सरकारको योजना र व्यवस्थापनबिना सुकुमबासीहरूलाई विस्थापित गरिएको आरोप लगाएका छन्। कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा शनिबार आएको बाढीका कारण त्यहाँ आश्रय लिइरहेका परिवार थप समस्यामा परेको भन्दै उनीहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

यस्तै, शनिबार साँझ पक्राउ परेका जेन्जी अभियन्तालाई तत्काल रिहा गर्नुपर्ने मागसमेत प्रदर्शनमा उठाइएको थियो। प्रदर्शनकारीहरूले उक्त पक्राउलाई कानुनी प्रक्रिया विपरीत भएको दाबी गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए।

मोर्चाले सुकुमबासीहरूको सम्मानजनक पुनःस्थापना, सुरक्षित आवासको व्यवस्था र आन्दोलनमा सहभागीमाथि भएको दमन रोक्न सरकारसँग आग्रह गरेको छ।