स्याङ्जा, असार १६ – आधुनिक कृषि प्रविधिको बढ्दो प्रयोगका बीच हराउँदै गएको हल गोरु पालनको परम्परालाई संरक्षण गर्न स्याङ्जाको गल्याङ नगरपालिकाले ११५ जना कृषकलाई प्रोत्साहनस्वरूप नगद अनुदान वितरण गरेको छ।
नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ अन्तर्गत सञ्चालन गरेको ‘कृषक प्रोत्साहन अनुदान कार्यक्रम’ मार्फत प्रतिकृषक पाँच हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराएको हो। नगरपालिकाका अनुसार ११५ कृषकबाट ११६ हल गोरुको आवेदन प्राप्त भएको थियो।
नगरपालिकाले सार्वजनिक सूचना जारी गरी आवेदन आह्वान गरेपछि कृषकहरूले गोरुको बिमा, गोठमा रहेका हल गोरुको तस्बिर तथा आवश्यक कागजातसहित निवेदन दिएका थिए। त्यसपछि पशु सेवा शाखाको टोलीले स्थलगत अनुगमन गरी मापदण्ड पूरा गरेका कृषकको बैंक खातामा अनुदान रकम जम्मा गरिएको जनाएको छ।
नगरपालिकाले पछिल्ला वर्षहरूमा पावर टिलरको प्रयोग बढ्दै जाँदा हल गोरु पाल्ने संख्या घटिरहेको, ग्रामीण क्षेत्रमा इन्धन तथा मर्मतसम्भारको समस्या अझै कायम रहेको र परम्परागत खेती प्रणाली जोगाउन आवश्यक देखिएकाले यो कार्यक्रम सञ्चालन गरिएको जनाएको छ।
पशु सेवा शाखाका प्राविधिक महादेव बनले आवेदन परेकाभन्दा धेरै कृषकले हल गोरु पालेको अनुमान रहेको बताए। उनका अनुसार कतिपय कृषकले समयमै जानकारी नपाउँदा वा आवेदन नदिँदा यस वर्ष अनुदानबाट वञ्चित भएका हुन सक्छन्।
नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ मा पनि हल गोरु पालन प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। यस वर्ष अनुदान नपाएका योग्य कृषकलाई आगामी वर्ष प्राथमिकताका साथ समेटिने नगरपालिकाले जनाएको छ।
