अहमदाबाद विमान दुर्घटना : एक जना जीवितै उद्दार, २४१ जनाको मृत्यु


अहमदाबाद विमान दुर्घटना : एक जना जीवितै उद्दार, २४१ जनाको मृत्यु
  • नवकिरण
  • जेष्ठ २९, २०८२

काठमाडौं, जेठ २९ – भारतको अहमदाबादबाट बेलायतको लन्डनतर्फ उडेको एयर इण्डियाको विमान दुर्घटनामा परेको छ । दुर्घटनामा २४१ जनाको ज्यान गएको छ भने एक जना यात्रु जीवितै उद्दार भएका छन् ।

न्यूज १८ डटकमका अनुसार, प्रारम्भिक रुपमा सबै यात्रुको मृत्यु भएको भनिए पनि एक जना ४० वर्षीय विश्वास कुमार रमेशलाई जीवितै उद्दार गरिएको हो । उनको छाती, आँखा र खुट्टामा चोट लागेको छ र अहिले अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अहमदाबाद प्रहरी आयुक्तका अनुसार, ‘पहिलेको अभिव्यक्ति गलत रूपमा प्रस्तुत भएको थियो, एक जना यात्रु जीवितै भेटिएका छन् ।’

दुर्घटनामा बाँच्न सफल विश्वास कुमार बेलायत फर्किंदै गरेका थिए । उनले हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा भनेका छन्, ‘टेकअफ भएको करिब ३० सेकेन्डमै ठूलो आवाज आयो र त्यसपछि विमान खस्यो । सबै कुरा एकैछिनमै भयो ।’

एयर इण्डियाको उक्त विमान लन्डनको ग्याटविक विमानस्थलतर्फ उडेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको थियो । विमान अहमदाबाद नजिकैको चिकित्सकहरुको आवासीय क्षेत्रमा खस्दा भवनमा रहेका मानिसहरु समेत गम्भीर घाइते भएका छन् ।

विमानमा १६९ जना भारतीय, ५३ जना बेलायती, ७ जना पोर्चुगिज, १ जना क्यानाडेलीसहित कुल २४२ जना यात्रु सवार थिए । विमानको टुक्रा होस्टल भवन वरपर छरिएको देखिएको छ भने विमानको पुच्छर भवनको छतमा अड्किएको तस्वीरहरु सार्वजनिक भएका छन् ।

शवहरुलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ । दिल्लीस्थित नेपाली दूतावासले नेपाली यात्रु हुनसक्ने आशंकामा भारतीय अधिकारीसँग समन्वय गर्दा नेपाली यात्रु नरहेको पुष्टि भएको छ ।

एयर इन्डियाका अध्यक्ष नटराजन चन्द्रशेखरनले यो घटनालाई ‘विपत्तिपूर्ण दुर्घटना’ भनेका छन् । बेलायती राजा चार्ल्सले विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका छन् ।