वीरगञ्ज, पुस २१ – पर्साको वीरगञ्जमा सुरक्षा अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ। स्थिति नियन्त्रणबाहिर जान सक्ने आँकलन गर्दै प्रशासनले कडा सुरक्षा कदम अपनाएको हो।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सोमबार साँझ ६ बजेदेखि मङ्गलबार बिहान ८ बजेसम्म वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र कर्फ्यु लागू गरिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए।
हालै निषेधाज्ञा उल्लङ्घन गर्दै भएको प्रदर्शनका क्रममा प्रहरी र एक हिन्दुवादी समूहबीच झडप भएपछि अवस्था थप संवेदनशील बनेको प्रशासनको भनाइ छ। शान्ति सुरक्षा कायम राख्न तथा सम्भावित अप्रिय घटनाबाट जोगिन कर्फ्यु आवश्यक भएको जनाइएको छ।
कर्फ्यु अवधिभर सर्वसाधारणलाई घरबाहिर ननिस्कन र आवतजावत नगर्न निर्देशन दिइएको छ। आदेश उल्लङ्घन गरे कानुनअनुसार कडा कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।
