काठमाडौं, पुस १७ – नेकपा (एमाले) ले प्रतिनिधिसभा निर्वाचनका लागि बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा २१ जिल्लाबाट कुनै पनि उम्मेदवार नसमेटिएको पाइएको छ । निर्वाचन आयोगको प्रारम्भिक छानबिन अनुसार एमालेको सूचीमा ५६ जिल्लाका उम्मेदवार मात्र समावेश छन् ।
प्रतिनिधित्व नपाउने जिल्लाहरूमा मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, ओखलढुंगा, गोरखा, बागलुङ, ताप्लेजुङ, तेह्रथुम, रसुवा, मनाङ, नवलपुर (नवलपरासी पूर्व), रूपन्देही, सल्यान, पश्चिम रूकुम, दैलेख, डोल्पा, डोटी, जुम्ला, बाजुरा, बैतडी र डडेल्धुरा रहेका छन् ।
यसबीच झापा जिल्लाबाट सबैभन्दा धेरै ९ जनाको नाम समानुपातिक सूचीमा परेको छ । झापा ठेगाना भएका उम्मेदवारमध्ये जनजाति महिला समूहबाट अनिता सुब्बा, जनजाति पुरुषतर्फ विद्यानन्द राजवंशी छन् । खसआर्य महिलातर्फ नर्मदादेवी सिवाकोटी, मेकुका काफ्ले र लता प्रसाईं समेटिएका छन् भने दलित महिलातर्फ निता घतानी र दलित पुरुषतर्फ जितु दर्जी गौतम तथा सोम पोर्तेल छन् । मधेशी महिलातर्फ बिना शाह महतोको नाम पनि सूचीमा परेको छ ।
एमालेले तोकिएको म्यादभित्र पुस १३ र १४ गते समानुपातिक तर्फ ११० उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा दर्ता गराएको थियो । २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक र १६५ जना प्रत्यक्ष प्रणालीमार्फत निर्वाचित हुने संवैधानिक व्यवस्था छ ।
निर्वाचन आयोगले दलहरूले बुझाएका बन्दसूचीमा समावेशी कलस्टरको पालना भएको छ कि छैन भन्ने विषयमा अध्ययन सुरु गरेको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले पुस २० गतेसम्म अध्ययन सकिने जानकारी दिएका छन् ।
अध्ययनपछि त्रुटि देखिए दलहरूलाई पत्र पठाइने र पुस २७ गतेसम्म सूची संशोधन गर्न अवसर दिइने आयोगको तयारी छ । उम्मेदवारले पुस २८ गते नाम फिर्ता लिन पाउनेछन् भने रिक्त स्थान पूर्ति गर्न ३० पुससम्म समय तोकिएको छ ।
आयोगको कार्यतालिका अनुसार ४ माघमा प्रारम्भिक बन्दसूची सार्वजनिक हुनेछ । त्यसपछि ५ देखि १० माघसम्म दावी–विरोध दर्ता गर्न सकिनेछ । २० माघमा उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरिनेछ ।
आगामी प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा देशभर बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।
