प्रतिनिधिलाई परिचयपत्र बाँड्दै रास्वपा, दिउँसोदेखि बन्दसत्र सुरु


प्रतिनिधिलाई परिचयपत्र बाँड्दै रास्वपा, दिउँसोदेखि बन्दसत्र सुरु
  • नवकिरण
  • अषाढ ९, २०८३

चितवन, असार ९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत आज प्रतिनिधिहरूलाई परिचयपत्र वितरण गर्ने कार्यलाई तीव्रता दिइएको छ। परिचयपत्र प्राप्त गरेपछि प्रतिनिधिहरू बन्दसत्रमा सहभागी हुनेछन्।

पार्टीको निर्वाचन आयोगका प्रमुख भुवन केसीले परिचयपत्र वितरण कार्य सुरु भइसकेको जानकारी दिँदै आज दिउँसो १ बजेदेखि बन्दसत्र सञ्चालन गर्ने तयारी रहेको बताए। बन्दसत्रको कार्यतालिका र अन्य व्यवस्थापन सम्बन्धी विषयमा अन्तिम तयारी भइरहेको उनको भनाइ छ।

भरतपुरमा जारी महाधिवेशनमा देशभरबाट आएका करिब ४ हजार ५ सय प्रतिनिधिहरूको उपस्थिति रहेको छ। बन्दसत्रमा पार्टीको संगठनात्मक संरचना, विधान संशोधन, भावी रणनीति तथा नेतृत्व चयनका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

आइतबार विशेष समारोहका बीच उद्घाटन गरिएको महाधिवेशनलाई रास्वपाको संगठन विस्तार र आगामी राजनीतिक दिशानिर्देश तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।