रास्वपा महाधिवेशन : मतपेटिका बन्द, गणना सुरु हुने तयारी


रास्वपा महाधिवेशन : मतपेटिका बन्द, गणना सुरु हुने तयारी
  • नवकिरण
  • अषाढ ११, २०८३

काठमाडौं, असार ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन समितिका अनुसार मतदानमा कुल २ हजार ९५९ मत खसेको छ।

मतदान सकिएसँगै अहिले मतपेटिका सुरक्षित गर्ने तथा आवश्यक कागजी प्रक्रिया पूरा गर्ने काम भइरहेको छ। यी प्रक्रिया सम्पन्न भएपछि मतगणना सुरु गरिने जनाइएको छ।

रास्वपाले आजै केन्द्रीय सदस्यहरूको नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको छ। त्यसपछि पार्टीका प्रमुख पदाधिकारी चयनका लागि अर्को चरणको मतदान गरिने कार्यक्रम छ।

महाधिवेशनमा खुला उपसभापति, महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री तथा दुई महिला सहमहामन्त्री पदका लागि प्रतिनिधिहरूले मत हाल्नेछन्।

पार्टीको नयाँ नेतृत्व चयन गर्ने प्रक्रियाले गति लिएसँगै महाधिवेशनस्थलमा उम्मेदवार र प्रतिनिधिहरूको चहलपहल बढेको छ।