काठमाडौं, असार १८ – सरकारले भूमिहीन नागरिकलाई जग्गाको कानुनी स्वामित्व प्रदान गर्ने अभियानलाई बर्दियाबाट अघि बढाएको छ। पहिलो चरणमा बर्दियाको बढैयाताल गाउँपालिका–४ का २९ भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण गरिएको हो।
लामो समयदेखि जग्गा उपयोग गर्दै आए पनि स्वामित्वबाट वञ्चित रहेका ती परिवार अब कानुनी रूपमा जग्गाधनी बनेका छन्। सरकारको योजनाअनुसार भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या स्थायी रूपमा समाधान गर्न देशभर लालपुर्जा वितरण अभियान विस्तार गरिने जनाइएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले वास्तविक भूमिहीन नागरिकलाई जग्गाको कानुनी अधिकार दिलाउने कार्य सरकारको उच्च प्राथमिकतामा रहेको बताइन्। उनले बर्दियाबाट सुरु भएको अभियान क्रमशः अन्य जिल्लामा पनि विस्तार गर्दै सबै योग्य लाभग्राहीसम्म लालपुर्जा पुर्याइने जानकारी दिइन्।
