काठमाडौं, असार २३ – एसियाली विकास बैंक (एडीबी)ले नेपालको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार विस्तारलाई थप गति दिन आफ्नो सहयोग उल्लेखनीय रूपमा बढाउने घोषणा गरेको छ। नेपाल भ्रमणमा रहेका एडीबीका अध्यक्ष मासातो कान्दाले प्रधानमन्त्रीसँगको भेटमा आगामी वर्षहरूमा नेपालको आर्थिक रूपान्तरणमा बैंकले अझ सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
भेटका क्रममा अध्यक्ष कान्दाले नेपाललाई सन् २०२९ सम्म करिब २ अर्ब ४० करोड अमेरिकी डलर (झन्डै ३ खर्ब ६५ अर्ब रुपैयाँ) बराबरको सहयोग उपलब्ध गराइने जानकारी दिए। उनका अनुसार उक्त सहयोग रोजगारी सिर्जना, निजी क्षेत्रको विकास, दिगो पूर्वाधार निर्माण तथा जनताको जीवनस्तर सुधारमा केन्द्रित हुनेछ।
भ्रमणकै अवसरमा नेपाल सरकार र एडीबीबीच १६ करोड ५० लाख अमेरिकी डलर (करिब २५ अर्ब रुपैयाँ) बराबरको सहयोग सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौताअनुसार खानेपानी तथा ढल व्यवस्थापनका लागि ११ करोड ५० लाख डलर खर्च गरिनेछ भने बाँकी ५ करोड डलर भन्सार प्रणाली आधुनिकीकरण, व्यापार सहजीकरण र डिजिटल सेवा विस्तारका लागि नीतिगत ऋणका रूपमा प्रयोग गरिनेछ।
अध्यक्ष कान्दाले एडीबीको सहयोगमा सञ्चालन भइरहेका ऊर्जा, शिक्षा र पुनर्निर्माणसम्बन्धी परियोजनाको निरीक्षण पनि गरेका छन्। उनले काठमाडौंका दुई विद्युत् सबस्टेसनको भर्चुअल उद्घाटन गर्नुका साथै भूकम्पपछि पुनर्निर्माण गरिएको विद्यालयको अवलोकन गर्दै डिजिटल शिक्षा र एआई साक्षरता कार्यक्रमको शुभारम्भ गरेका थिए।
एडीबीका अनुसार नेपालसँगको ६० वर्षभन्दा लामो साझेदारीलाई थप प्रभावकारी बनाउँदै आगामी दिनमा लगानी विस्तार, आर्थिक सुधार, सार्वजनिक सेवा सुदृढीकरण र हरित विकासलाई प्राथमिकतामा राखिनेछ। हाल नेपालमा एडीबीको सहयोगमा करिब ४ अर्ब अमेरिकी डलर बराबरका विकास आयोजना कार्यान्वयनमा रहेका छन्।
