‘तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न?’ भन्दै राईले प्रश्न गरेपछि संसद्मा फेरि तनाव


‘तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न?’ भन्दै राईले प्रश्न गरेपछि संसद्मा फेरि तनाव
  • नवकिरण
  • अषाढ २४, २०८३

काठमाडौं, असार २४ – प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्याल र नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईबीच चर्काचर्की भएको छ । विपक्षी दलको विरोधका बीच बैठक सञ्चालन गर्ने क्रममा दुवैबीच भनाभन भएको हो ।

बैठकमा आफ्नो धारणा राख्ने क्रममा सांसद राईले सभामुखलाई लक्षित गर्दै ‘तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न?’ भन्दै प्रश्न गरेपछि सभामुख अर्यालले आपत्ति जनाएका थिए ।

सभामुख अर्यालले संसद्को मर्यादा कायम राख्न आग्रह गर्दै असंसदीय र अपमानजनक भाषा प्रयोग नगर्न चेतावनी दिए । उनले सभामुखको अवहेलना हुने गरी अभिव्यक्ति दिएको भन्दै सांसद राईलाई आफ्नो भनाइ सच्याउन आग्रह गरे ।

विवादपछि सभामुखले अन्य सांसदलाई बोल्ने अवसर दिए पनि विपक्षी सांसदहरूले उठेर नाराबाजीसहित विरोध जारी राखे । सभामुख अर्यालले संसद् बैठकमा मर्यादित व्यवहार र भाषा प्रयोग गर्न सबै सांसदलाई आग्रह गरे ।

सभामुख र एमाले सांसद राईबीच भएको विवादका कारण प्रतिनिधि सभा बैठक केही समयका लागि रोकिएको थियो । सभामुखले बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी गराए ।

प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले केही दिनयता प्रतिनिधि सभा बैठक अवरुद्ध गर्दै आएका छन् । सोही विषयलाई लिएर बुधबारको बैठकमा पनि विवाद उत्पन्न भएको हो ।