दुई दिन देशभर वर्षा बढ्ने, केही क्षेत्रमा अति भारी पानी पर्ने चेतावनी


दुई दिन देशभर वर्षा बढ्ने, केही क्षेत्रमा अति भारी पानी पर्ने चेतावनी
  • नवकिरण
  • श्रावण २, २०८३

काठमाडौं, साउन २ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी शनिबार र आइतबार देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

महाशाखाले विशेष मनसुन बुलेटिन जारी गर्दै हाल देशभर मनसुनी वायु सक्रिय रहेको र मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास सरेकाले वर्षाको गतिविधि थप तीव्र हुने जनाएको छ। यसका कारण विशेषगरी हिमाली र पहाडी क्षेत्रमा लगातार वर्षा हुने अनुमान गरिएको छ।

पूर्वानुमानअनुसार कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्छ। त्यस्तै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा अति भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली उत्तर–पश्चिमतर्फ अघि बढिरहेकाले मनसुन थप सक्रिय बनेको मौसमविद्को विश्लेषण छ। यसको प्रभावस्वरूप देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाले लगातारको वर्षाले बाढी, पहिरो, डुबान तथा सडक र हवाई यातायातमा अवरोध सिर्जना हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। साथै कृषि, पर्यटन तथा पर्वतारोहणजस्ता क्षेत्रमा समेत असर पर्न सक्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणलाई मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा पालना गर्न अनुरोध गरिएको छ।