काठमाडौं, साउन १३ – राष्ट्रिय महत्वका समसामयिक विषयमा छलफल गर्न आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन शाह उपस्थित नभएपछि नेपाली कांग्रेसका सभापति गगन थापाले नेतृत्वको भूमिकामाथि प्रश्न उठाएका छन्।
बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै थापाले वर्तमान परिस्थितिमा राजनीतिक दलहरूबीच एकता र सहकार्यको आवश्यकता झन् बढेको बताए। उनले सरकारलाई आलोचना गर्ने वा अप्ठ्यारोमा पार्ने कांग्रेसको उद्देश्य नरहेको स्पष्ट गर्दै आवश्यक विषयमा सरकारसँग मिलेर काम गर्न पार्टी तयार रहेको उल्लेख गरे।
थापाले प्रधानमन्त्रीले यस्ता संवेदनशील समयमा सबै राजनीतिक शक्तिलाई एक ठाउँमा ल्याएर विश्वासको वातावरण बनाउनुपर्ने धारणा राखे। उनले अहिले नेतृत्वले दूरी कायम गर्ने वा ‘ठालु’ प्रवृत्ति देखाउने समय नभएको भन्दै सबै पक्षलाई समेटेर अघि बढ्न आग्रह गरे।
उनका अनुसार मुलुकमा देखिएका चुनौती समाधान गर्न प्रधानमन्त्रीले सक्रिय र समन्वयकारी भूमिका निर्वाह गर्नु आवश्यक छ। धार्मिक सद्भाव, सामाजिक सहिष्णुता र राष्ट्रिय एकता कायम गर्न सबै दलले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्नेमा पनि उनले जोड दिए।
थापाले विगतमा पनि राष्ट्रिय संकटका बेला राजनीतिक मतभेदलाई थाती राखेर सरकार र प्रमुख दलहरूले संयुक्त छलफलमार्फत निकास खोज्ने अभ्यास रहेको स्मरण गराए।
सुनसरी घटनासहित पछिल्ला समसामयिक विषयमा साझा धारणा बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बुधबार सर्वदलीय बैठक बसेको थियो। उक्त बैठकमा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरुङ भने अनुपस्थित रहे।
